News Griha :: न्यूजगृह
मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ : विनोद चौधरी

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाइ लागु गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ । समितिमा रहेका सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ भएकाले सांसद विनोद चौधरीले समितिको सभापतित्व गरेका हुन् । 

arthasamiti-2080-03-211688638584.jpg

नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ छ । 

किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्री सहित मातहतका निकाय कार्ययोजना सहित स्पष्ट हुनुपर्ने उनले बताए । 

समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिको बारेमा भएको प्रगति र आगामी कार्ययोजना बारे जानकारी लिने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:५५
Weather Update