
काठमाडौं — दाङको तुलसीपुरबाट सल्यान हुँदै रोल्पाको दलसिङ्गे जाँदै गरेको यात्रु बसमा करेन्ट प्रवाह हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी– ६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । मृतक बसका मालिक हुन् ।
बिहीबार बिहान गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा रोल्पाका कालुराम डाँगी र उनका छोरा टोपिलालको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस सल्यानको राप्ती राजमार्ग अन्तर्गत चोर खोला नजिकै पुग्दा घटना भएको हो ।
बुधबार राति हावाहुरी आउँदा सडक छेउको बिजुलीको तारमा रूख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनामा रोल्पाका कालुराम डाँगी र उनका छोरा टोपिलालको मृत्यु भएको थियो ।