
काठमाडौं— घोराही सिमेन्टको आईपीओ विवादमा छ । विवादकैबीच यसको आईपीओ आवेदन नै रोकिएको छ । फेरी आईपीओ खुलाउने तयारीसमेत भइरहेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि गत असार ४ मा घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको हो ।
आईपीओ निष्कासन प्रक्रिया रोकेको नेपाल धितोपत्र बोर्डले यसबारे छानविनसमेत सुरु गरेको थियो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बोर्डलाई जानकारी गराएको थियो । त्यसपछि बोर्डले आईपीओ निस्कासन प्रक्रिया रोकेर छानविन थालेको थियो ।
सिमेन्ट कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेपछि पनि म्याद थपका लागि अनुरोध भएको र यसबारे स्पष्टीकरण माग गर्दा प्राप्त नभएपछि बोर्डले ‘बोल्ड’ निर्णय लिएको हो । बोर्डको छानविनमा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको पाइएको छ ।
आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पैसा पर्याप्त नभए पनि आवेदक स्वीकृत गरेको बोर्डको छानबिनमा देखिएको हो ।
‘खातामा पैसा नभए पनि एनआईसी एशिया बैंकले आवेदन स्वीकृत गरेको विषय छानबिन गर्नुपर्ने देखिएको छ,’ बोर्डको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । घोराही सिमेन्टको मुख्य लगानीकर्ता त्रिवेणी ग्रुप र विशाल ग्रुप हो । एनआईसी एशिया बैंक पनि मुख्य लगानीकर्तामा विशाल ग्रुप र त्रिवेणी ग्रुप नै रहेको छ । यसले घोराही सिमेन्टको आईपीओ महङ्गो मूल्यमा बेच्नको लागि सङ्गठित रुपमा प्रवर्दकले ठगी गर्न खोजेको देखिन्छ ।
घोराहीको रेटिङ विशाल ग्रुप नै प्रवर्दक रहेको केयर नेपालबाट भएको थियो । बोर्डको अनुसन्धान प्रतिवेदनले जालसाजीमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने सुझाव दिएको छ । घोराही सिमेन्टको आईपीओ आरक्षण हुने स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेकाहरूले किनेका थिएनन् । घोराहीले १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।