
काठमाडौं— पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले विवादमा छन् ।
उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजिनामा नै माग गरेको छ । त्यस्तै, लगातार संसद् बैठकसमेत अवरुद्ध हुँदै आएको छ ।
तर प्रधानमन्त्री प्रचण्डको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै संसद्मा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विवाद बढेपछि बिहीबार बिहान सत्तारुढ दलहरूको संयुक्त बैठकसमेत बसेको थियो ।
उक्त बैठकले संसद् फेस गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धन दलहरूको बैठक लगतै प्रधानमन्त्री प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गरेर उक्त अभिव्यक्तिलाई अपव्याख्या गरिएको दाबी गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै माओवादी शान्ति प्रक्रियामा आएसँगै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको र २०६७/६८ सालमा सिंहको जेठी छोरी ज्ञानुको उपचार गर्ने क्रममा दिल्लीस्थित घरमा बसेकाले प्रचण्ड र प्रितमको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत भएको बताएका छन् ।
प्रचण्डसँग भएका अनौपचारिक भेटघाटका क्रममा सिंहले ‘तपाईँजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्ने गरेको र पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यही विषय प्रसङ्गवश उल्लेख मात्र गरेको सचिवालयले बताएको छ । ‘यसैक्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो,’ आचार्यको वक्तव्यमा भनिएको छ, ‘सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुःखद छ ।’
संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही रहेको समेत उनको दाबी छ । प्रेस सल्लाहकार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसद्माप्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ ।’
सरकारको कामका कारण ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय भएको विज्ञप्तिमा उल्लेख छ ।