News Griha :: न्यूजगृह
एमालेको कदम असंसदीय, प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन 

काठमाडौं—  सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले संसद् फेस गर्ने निर्णय पनि गरेको छ । 

सरदार प्रितम सिंह बारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए । त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितमसिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो ।’

प्रचण्डको यो भनाइलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर बुधबार संसद् बैठक अवरुद्ध गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१८
Weather Update