सुर्खेत— कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले कर्णाली प्रदेशका जनताको आवश्यकताभन्दा व्यक्तिको आशय पूरा हुने गरी बजेट विनियोजन हुनु दुर्भाग्य भएको बताएका छन् ।
कर्णाली प्रदेश सरकारको असार १७ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले १५ लाखभन्दा मुनिका योजना कार्यान्वयनमा नल्याउने सीमा निर्धारण गरेर मठ, मन्दिर, गुम्बामा त्योभन्दा बढी बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाए ।
‘जनताले शुद्ध खानेपानी र कृषिका लागि सिँचाइ गर्न पाएका छैनन् तर हाम्रो बजेट मठमन्दिर गुम्बा निर्माणमा विनियोजन गरिएको छ’, सदस्य विष्टले भने,‘हामीलाई शिक्षा, खानेपानी र सिँचाइ चाहिएको हो कि मठमन्दिर निर्माण ?’
पूर्वआर्थिक मामिलामन्त्रीसमेत रहेका विष्टले रातो किताब हेर्दा शिक्षा र धार्मिक क्षेत्रको बजेट हाराहारीमा रहेको जिकिर गरे । उनले दैलेखमा मात्र ९५ प्रतिशत कूल देवताका मठमन्दिर निर्माणमा बजेट गएको बताए ।
जनताको आवश्यकता एकातिर तर बजेट विनियोजन अर्कोतिर हुनुले सरकारले आफैंले ल्याएको नीति, कार्यक्रम तथा बजेटमाथि नै प्रश्न उठेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सङ्घीयता हरेक जनताको घरदैलोमा पुगेको अनुभूति हुने गरी काम हुनुपर्नेमा जोड दिँदै उनले भएको स्रोतको सही सदुपयोग गर्न सरकारलाई आग्रह गरे ।
प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले यही असार १७ गते सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट भएको सहमतिअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताए ।
प्रदेश सभा सदस्य देवेन्द्र शाहीले मन्दिर, पितृको नाममा बनाइने थान, खोपा निर्माणका लागि छुट्याइएको बजेटले कुनै पनि परिणाम नदिने प्रतिक्रिया दिए भने सदस्य दुर्गबहादुर राहतले प्रदेशको आवश्यकता पुष्टि हुने गरी सरकारलाई काम गर्न आग्रह गरेका थिए ।