
पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको बताएका छन् । प्रदेश सभामा आगामी आव २०८०/८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको बुधबार जवाफ दिँदै उनले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए ।
‘मैले बजेटमा गोखरालाई पहिलो प्राथमिकतामा नराखिदिनुहोला भनेको थिएँ, आफ्नो सरकारले ल्याउने पहिलो बजेटमै यसको झल्को आउनुहुँदैन भन्नेमा म सचेत थिएँ’, मुख्यमन्त्री पाण्डेले भने,‘सङ्घ सरकारको बजेटमा पनि गोरखाको बढी चर्चा भएको सन्दर्भमा प्रदेशका माननीयज्यूहरूले अलिअलि विषय उठानुभयो, तर अवस्था त्यस्तो छैन, बजेट र योजना बाँडफाँट हेर्दा त्यो प्रष्ट हुन्छ ।’
बाहिर ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा बजेटलाई लिएर आफ्नो गृहजिल्लाका नागरिकले गरेको गुनासो आफूलाई मात्र थाहा भएको उनले बताए । ‘मुख्यमन्त्री हुँदा पनि जिल्लालाई केही गर्न नसकेको आरोप ममाथि छ, सामाजिक सञ्जाललगायतबाट टिप्पणी भइरहेको छ’,मुख्यमन्त्री पाण्डेले भने ।