
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद् अवरोध गरेको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उनले संसद्मा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक आज पास गर्ने कार्यसूची रहेको तर, प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोसिस गरेको बताए ।
उनले पुस्तक विमोचनका बेला आफूले पुस्तकका पात्र २०७२ सालतिर आफूलाई प्रधानमन्त्री बनाउन कहिले नेपालका राजनीतिक दल र कहिले दिल्ली धाउने प्रितम सिंहले भनेको कुरालाई आफूले बोलेको बताए ।
‘७२ साल तिरको कुरा हो । त्यतिबेला उनी (प्रितम सिंह) मलाई प्रधानमन्त्री बनाउन कहिले कुन पार्टीलाई भेट्ने, कहिले कल्लाई भेट्ने कहिले दिल्ली दौडिने गर्थे उनी भनेको थिएँ मैले । मेरो कुरा थिएन, त्यो उनको कुरा भनेको मैले,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले बहाना चाहिएको छ, यो विधेयक रोक्ने सायद त्यसकारण यसलाई बहाना बनाएर सदन अवरोध गर्ने कोसिस भइरहेको छ ।’