News Griha :: न्यूजगृह
विपक्षीद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै  राजीनामा माग, बैठक स्थगित

काठमाडौं— प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेलगायत प्रतिपक्षी दलले विरोध जनाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले राजधानीमा हालै आयोजित एक कार्यक्रममा आफूलाई एकपटक प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरै मिहेनत गरेको बताएका थिए । ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नुभो । धेरैचोटि दिल्ली जानु पनि भयो । नेपालका पार्टीहरूसँग नेताहरूसँग छलफल पनि गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए । 

एमाले, रास्वपा र राप्रपाका सांसदहरू सदनमा उभिएर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरिएको घोषणा गरे । राप्रपाका सांसदहरूले बेल घेर्ने प्रयास गरेका थिए । 

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:२८
Weather Update