News Griha :: न्यूजगृह
१० अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
फाइल तस्बिर ।

काठमाडौं— नेपाल राष्ट्र बैंकले यही असार २१ गते रु १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रूपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । 

सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्कासन गर्न लागेको हो । छ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । 

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । ऋणपत्र निष्कासित रकमको ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी रूपमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । ‘अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रमकको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

त्यस्तै, ब्याजदर निर्धारण गर्दा बोलवालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ् ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । 

यसरी कायम भएको एकल ब्याजदरमा ऋण उपलब्ध गराइने जनाइएको छ । ऋणपत्रका लागि घटीमा रु ५० हजार र बढीमा कुल निष्कासित  रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कका लागि आवेदन दिन पाइनेछ । रासस

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:४६
Weather Update