
काठमाडौं— राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क गरे ।
कुल जीडीपीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उनको भनाइ छ । सांसद देवकाटाले सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको समेत बताए ।
‘सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा हो । यो आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लो पटक १३४ अर्बको बजेट रहेको थियो । अहिले चाहिँ २७५ अर्ब । यसमा वैदेशिक ऋण मात्रै जोडने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ । अब यसले के संकेत गर्यो त सम्माननीय सभामुख महोदय ?,’ उनले भने, ‘यसले के संकेत गर्यो भने हामी बिस्तारै ऋणको जालोमा, ऋणको पासोमा पस्दैछौँ भन्ने त्यसले संकेत गरिदियो । त्यो बजेटको डाटाले पनि त्यही भन्छ । अव यो आर्थिक सर्वेक्षण अनुसार हामीले तिर्नुपर्ने ऋण चाँही २१ खर्ब छ । हाम्रो ऋण चाहिँ कुल जीडीपीको ४२ प्रतिशत हुुँदो रहेछ । यो चाहिँ हामीले तिर्नुपर्ने ऋण दायित्व छ । तर, ऋण लिएर घिउ खाएजस्तो अवस्था छ ।’
सांसद देवकोटाले सरकारले ल्याएको बजेट सङ्घीयता विरोधी रहेको पनि पटकपटक दोहोर्याए ।