News Griha :: न्यूजगृह
अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं— नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए । 

सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । 

सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्‍याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । 

रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले सरकार र अर्थमन्त्री गम्भीर नभइ अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए । उनले सरकारले कृषि उत्पादन बढाउने भने पनि किसानले  मल र बीउ खै भन्ने अवस्था रहेको उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:४८
Weather Update