
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा सांसद वाग्लेले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।
उनले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए ।
अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने उनको भनाइ छ ।
उनले नेपालको औसत राजस्व सङ्कलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने बाध्यता सरकारलाई रहेको बताए ।
उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए । सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गरे ।
सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविकताबीचको खाडल विश्वसनीयतामा प्रश्न उठ्नु राम्रो नभएको उनको भनाइ छ ।