
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलबाड गरेको दाबी गरेका छन् ।
सोमबार वीर अस्पतालले लिएको नयाँ नर्सहरूको स्वागतमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले लामो समयदेखि ठूलो सङ्ख्यामा नियुक्ति गर्न नसकेर हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए ।
उनले भने, ‘स्टाफ नर्सहरूको महत्व स्वास्थ्य क्षेत्रमा निकैनै महत्वपूर्ण छ । सरकारले लामो समयदेखि यसरी ठूलो सङख्यामा नियुक्ति गर्न सकेको अवस्था छैन । देशमा दक्ष जनशक्ति हजारौँको सङ्ख्यामा खेलबाड भएको अवस्था छ । बेरोजगार भएर बसेको अवस्था छ ।’
उनले दुःख गरेर पढेर पनि निजी अस्पतालमा आठ दशहजारमा काम गर्नुपरेको अवस्थामा राज्यले दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न नसकेको गुनासो पोखे ।
उनले भने, ‘दुःख गरेर यत्रो वर्ष पढेर । तपाईंहरूले निजी अस्पतालमा ८ हजार १० हजारमा काम गर्नुपरेको छ, राज्यले यसको बारेमा जे गर्नु पर्ने हो । त्यो गरेको छैन । दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न सकेको छैन ।’