News Griha :: न्यूजगृह
नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट

काठमाडौं— साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अङ्क घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अङ्कले गिरावट भएको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अङ्क घटेर २०७५.९७ विन्दुमा झरेको छ । पछिल्लो एक साता उच्च अङ्कले वृद्धि भएर २१ सय विन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.१७ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अङ्कले घटेको छ ।

सोमबार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि गिरावट आएको छ । आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत् र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 

सोमबार नेप्से २१.३२ अङ्कले गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सीवाईसी लघुवित्त वित्तीय संस्था, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर, यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.१३ प्रतिशत घटेको छ । सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:५६
Weather Update