
काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) की संघीय सांसद रेखा यादवले विद्याल कर्मचारीकाे मागका विषयमा पुनः संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको आइतबार (असार १७ गते) बसेको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि छलफलमा भाग लिँदै यादवले आन्दोलनरत विद्यालय कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले पटक–पटक विद्यालय कर्मचारीका माग संसदमा उठाउँदै आइरहेकी छिन् ।
माइतीघरमा आन्दोलित विद्यालय कर्मचारी घामपानीले बिरामी पर्न थालेको भन्दै उनले छिटो माग पूरा गर्न सरकारलाई आग्रह गरिन् ।
रोष्टमबाट उनले भनिन्, ‘युवालाई रोजगारीको कुरा गर्दागर्दै कहीँ युवालाई बेरोजगारीतिर त धकेल्न खोजिएको होइन ? सामुदायिक विद्यालयका कर्मचारीहरु अहिले पनि सडकमा छन् । आन्दोलन गरिरहेका छन् । मैले सुरुदेखि भन्दै आइरहेकी छु, उनीहरुको श्रमशोषण सरकारले गरेको छ । किन श्रमको व्यवस्था भइराखेको छैन ? घामपानीका कारण विद्यालय कर्मचारीहरु बिरामी भएका छन् । रिटायर्ड हुन लागेका बुढा बाआमा पनि त्यहाँ आन्दोलन गरिराखेका छन् । यस्तो अवस्थामा कसरी रोजगारी दिन सकिन्छ ? मैले सरकारलाई सोध्न चाहें । उहाँहरुको माग पूरा गर्न जोडदार माग गर्दछु ।’
यो पनि पढ्नुहोस