
काठमाडौं— सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो । बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ४४, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मेमा ७७ हजार ७०३ विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
जुन महिनामा भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बङ्गलादेशबाट २ हजार ४०२, युनाइटेड किङ्गडमबाट १ हजार ९९२, अष्ट्रेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक नेपाल आएका छन् ।