
पोखरा— अर्थमन्त्री डा प्रकाशशरण महतले करको दायराभित्र पर्छन् उनीहरूलाई छुट दिन नसकिने बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण पछि उनले धेरैजसो करदाताहरूलाई भ्याट नलाग्दा हुन्थ्यो भन्ने गरेको भन्दै छुट दिन नसक्ने बताएका हुन् ।
महतले भने, ‘हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ, यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनले हिसाब राख्नुपर्छ । धेरैजसो करदाता यो भ्याट नलाग्दिए हुन्थ्यो भन्छन् । तर, जो करको दायराभित्र पर्छन् उनीहरूलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला ।’
उनले आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुने बताउँदै अर्थतन्त्र चलायमान हुन थालेको जानकारी दिए । महतले भने,‘आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुन्छ । अर्थतन्त्र चलायमान हुन थालेको । पर्यटन क्षेत्र पनि चलायमान हुँदैछ, यसले राजस्व बढाउन मद्दत गर्छ । तपाईँहरूले यो जिम्मेवारीलाई उच्च कर्तव्यनिष्ठाका साथ पूरा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’
राजस्वको दायरा बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन भन्दै उनले भने, ‘हामीले राजस्वको दायरा बढाउँदै लैजानु आवश्यक छ । बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन । जति धेरै उत्पादन भयो, हामी सहज रुपमा कर उठाउन सक्छौँ । जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ । जति धेरै राजस्व उठ्यो, उति बढी विकास निर्माणमा बजेट विनियोजन गर्न सक्छौँ, त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ ।’