
काठमाडौं— अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गरे । ‘जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्नसक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजस्वलाई वैज्ञानिक ढङ्गबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु,’ उनले भने ।
उनले कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताए । उनले भने, ‘एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्करोमा पकाउँदा पनि पुग्दैन । त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन । आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेछ ।’
मन्त्री महतले नयाँ पार्टीहरूले आकाशको तारा झार्छु भन्दा पनि नागरिकहरू मान्न तयार रहने स्थिति देखिएको बताए ।