
काठमाडौं— हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा छ ।
यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरको थिए भनिन्छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ ।