News Griha :: न्यूजगृह
औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

काठमाडौं— औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराइ गुणस्तर यकिन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरे । 

‘विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,’ उनले भने, ‘औषधि ऐन, २०५३ को दफा १२ अनुरूप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।’

महानिर्देशक ढकालले औषधिको गुणस्तर यकिन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:३०
Weather Update