
गोरखा— गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० अनुदान उपलब्ध गराएको छ ।
चालु आवमा दुई हजार तीन सय ७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताए । यसबाहेक एक सय २१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो ।
गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्टले बताए ।