
काठमाडौं— काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।
प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो ।
बुधबार प्रकाशित सूचनामा भनिएकाे छ, ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ । यस्तो कानूनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ ।’