News Griha :: न्यूजगृह
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ नै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका योजनाकार

काठमाडौं— ललिता निवासको १४६ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणका नाइके भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ मंगलबार पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्सालबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार उनलाई मंगलबार बिहान निवासबाटै पक्राउ गरिएको हो । उनी ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।  गुरुङसँगै सीआईबीले मंगलबार नै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको छ ।

ललिता निवास प्रकरणमा २१० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म सात जना मात्र पक्राउ परेका छन् । पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । स्रोतका अनुसार पुर्जी जारी भएका सबै भूमाफिया र कर्मचारी हुन् ।

यसअघि सीआईबीले २०७८ पुस ६ गते ललिता निवास प्रकरणमा भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको थियो । उनीहरू भूमाफिया किटान गरिएका बिचौलिया हुन् । 

ललिता निवास प्रकरणमा सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उक्त मुद्दा विचाराधीन छ ।

तर, सीआईबीले भने अदालतमा मुद्दा दर्ता गरेको छैन । सरकारले नै सीआईबीलाई मुद्दा दर्ता गर्न नदिएको हो । करिब ३ वर्ष लगाएर सीआईबीले ललिता निवास प्रकरणमा अनुसन्धान गरेको थियो ।

सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन २०७८ पुस दोस्रो साता जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सीआईबीले आरोपितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को सजाय खण्डको ‘ग’ अनुसार ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तथा बिगो असुलको मागदाबी सहित प्रतिवेदन तयार पारेको थियो ।

उनीहरूविरुद्ध सीआईबीले किर्ते र जालसाजी मुद्दामा अनुसन्धान गरेको हो । सीआईबीले १३ अर्ब ७६ करोड बिगो कायम गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यस्तै, किर्ते कागजातअन्तर्गत कर्मचारीको हकमा थप २ वर्ष र अन्यको हकमा १ वर्ष सजाय पनि माग गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले उक्त फाइल सीआईबीमा नै फिर्ता पठायो ।

जग्गा हडप्न सरकारी कागजात नै लोप पार्ने, कागजातका अङ्क/अक्षरमा थपघट गर्ने तथा मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरी त्यसलाई नै आधार मानेर तलबाटै टिप्पणी उठाउने काम भएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । 

अख्तियारले भने ललिता निवास जग्गा हिनामिनामा संलग्न १ सय १० जनालाई बिगो/कैद र जरिबाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनमा प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको थियो । सीआईबीले ललिता निवास हिनामिना प्रकरणमै अख्तियारबाट मुद्दा दायर गरिएका भन्दा थप करिब २ सयलाई प्रतिवादी बनाएको छ । अख्तियारले प्रतिवादी बनाएका राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई भने सीआईबीले छुन सकेको छैन । 

लामो समयपछि मंगलबार एकाएक सीआईबीले भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको छ । उनले भाटभटेनी डेभलपमेन्ट कम्पनीको तर्फबाट ललिता निवासको सरकारी जग्गा किनेको अनुसन्धानबाट खुलेको छ । गुरुङलाई समेत प्रतिवादी बनाइ अख्तियारले समेत विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०४९ देखि २०६९ को अवधिमा तत्कालीन भोगाधिकार, कर्मचारी, बिचौलियालगायतको सेटिङमै सरकारी स्वामित्वको १ सय ४३ रोपनी ६ आना जग्गा व्यक्तिका नाममा पुगेको अनुसन्धानबाट खुलेको छ । 

ललिता निवास जग्गा हिनामिना भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको योजनामा भएको दाबी सीआईबीको छ । शोभाकान्त ढकाललाई थुनामा पठाएको छ । ललिता निवास प्रकरणमै उनलाई विशेष अदालतले पुर्पक्षमा पठाइएको हो । उनी हाल डिल्लीबजार कारागारमा छन् । 

सीआईबीका अनुसार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फेरि सुरु भएको हो । सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेपछि पुनः अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ४५ जनालाई पक्राउ गर्ने तयारी सीआईबीको छ । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:२१
Weather Update