
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले भने, ‘यो विमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राइभेट हस्पिटल, मेडिकल कलेजहरूले पनि यो सम्झौता अवधि सकिएकाहरूले सुरुमा रिन्यू नगरेको अवस्थाले पनि केही समस्या परेको छ ।’
सोमबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरू हटाउने गरी कार्ययोजनाहरू बनाउने काम भइरहेको बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरूको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।