News Griha :: न्यूजगृह
रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता

लुम्बिनी— आर्थिक वर्ष २०८०/०८१ का लागि रूपन्देहीका प्रायः सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् । 

बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् । भौगोलिक रूपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले आइतबार आगामी आवको लागि रु दुई अर्ब ७३ करोड ८४ लाख ३९ हजार पाँच सय २९ बजेट सार्वजनिक गरेको छ । 

उपप्रमुख जागेश्वर चौधरीले नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरेको बजेटमा चालु खर्च रु एक अर्ब छ करोड २४ लाख ५० हजारअर्थात् ३८ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्च रु एक अर्ब ६७ करोड ५९ लाख ८९ हजारअर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ । 

बजेटमा आन्तरिक राजस्वतर्फ रु ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड ९१ लाख ४४ हजार पाँच सय २९ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिए । 

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताए । बजेटमा स्वास्थ्यमा रु १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा रु ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा रु तीन करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा रु दुई अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । 

यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ रु ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समवेशीकरणतर्फ रु तीन करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाले आइतबार रु एक अर्ब १३ करोड ४१ लाख ४२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । 

उपप्रमुख उमा अधिकारीले पालिकाको १३औँ नगर सभामा सार्वजनिक गरेको बजेट चालु आवभन्दा रु २१ करोडले कम रहेको छ । चालु आवमा रु एक अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि रु ९४ करोड मात्र आम्दानी भएकाले बजेटको आकार घटाउनुपरेको उपप्रमुख अधिकारीले बताइन् ।

बजेटमा सङ्घीय सरकारबाट समानीकरण अनुदानमा रु १७ करोड ८९ लाख, सशर्त अनुदानमा रु २८ करोड ५४ लाख, समपुरक अन्दान रु ८० लाख , विशेष अनुदान रु ९० लाख र राजस्व बाँडफाँटमा रु १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु एक करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान रु ८६ लाख ५० हजार, राजस्व बाँडफाँटबाट रु ८६ लाख ८० हजार ४ सय १३, समपुरक अनुदान रु एक करोड ५० लाख रहने नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने रु १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम रु पाँच करोड, आन्तरिक आयबाट रु १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात रु ११ करोड ८९ लाख ३२ हजार पाँच सय ८७ गरी रु एक अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरिएको छ ।

रूपन्देहीको सैनामैना नगरपालिकाले आगामी आव २०८०/०८१ का रु एक अर्ब १० करोड ५२ लाख ६८ हजार सात सय ७४ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १३ औँ नगर सभामा उपप्रमुख विना राना मगरले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको प्रवर्द्धन, सामाजिक विकास, पर्यटन प्रवर्द्धन र शिक्षा क्षेत्रको विकासमा प्राथमिकता दिएको बताइन् । 

बजेटमा स्वास्थ्य क्षेत्रमा सङ्घीय सरकारबाट शसर्त रूपमा स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा रु दुई करोड ५६ लाख ८८ हजार र प्रदेश सरकारबाट स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा रु २० लाखमा नगरपालिकाबाट रु तीन करोड छ लाख ३९ हजार थप गरी जम्मा रु छ करोड ८३ लाख २७ हजार विनियोजन गरिएको छ । 

बुद्ध जन्मस्थल लुम्बिनी रहेको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि आइतबार एकै पटक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगर सभाले आगामी वर्ष २०८०/०८१ का लागि रु ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

बजेटमा समानीकरण अनुदानतर्फ रु १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ रु ३४ करोड ३२ लाख, राजस्व बाँडफाँटतर्फ रु १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ रु एक करोड ३० लाखको अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान रु एक करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत रु तीन करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान रु एक करोड ५० लाख रहेको छ । 

साथै, गत वर्षको बैंक मौज्दात रु तीन करोड, सडक बोर्डतर्फ ४० लाख गरी आगामी वर्ष २०८०/०८१ का लागि रु ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । आव २०७९/०८० को असार १० गतेसम्म आइपुग्दा कूल बजेटको ४५ दशमलव १३ प्रतिशत पुँजीगत खर्च र ७६ दशमलव ७८ प्रतिशत चालुतर्फ खर्च भएको जनाइएको छ ।

नगरपालिकाको ११औँ नगर सभाले आगामी वर्ष २०८०/०८१ लागि प्रस्तुत नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

यस्तै जिल्लाको ओमसतिया गाउँपालिकाको १३औँ गाउँ सभाले आव २०८०/०८१ रु ४७ करोड ६६ लाख ९६ हजार एक सय सात बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले राजस्वबाट रु १४ करोड आठ लाख ७५ हजार एक सय सात, आन्तरिक स्रोतबाट रु तीन करोड ५० लाख, जिससबाट प्राप्त अनुदान रु एक करोड ४० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु १० करोड ४४ लाख ७५ हजार एक सय सात, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबापत रु २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत रु दुई करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौज्दात रु दुई करोड गरी ४७ करोड बढीको बजेट पेस गरिएको थियो ।

रूपन्देहीको सियारी गाउँपालिकाले आगामी आव २०८०/८१ का लागि रु ६१ करोड ५० लाख ३१ हजार आठ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु चार करोड, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्व बाँडफाँटबाट रु छ करोड ७५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट रु ४० लाख ५३ हजार छ सय ३० र सङ्घीय राजस्व बाँडफाँटबाट रु नौ करोड ४७ लाख ८३ हजार दुई सय, सङ्घीय सरकार वित्तीय हस्तान्तरणबाट रु ३८ करोड तीन लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट रु दुई करोड ८३ लाख ९५ हजार आउने अनुमान गरिएको छ ।
    
आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट रु दुई करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रममा रु तीन करोड ४४ लाख ८० हजार गरी जम्मा रु ५ करोड ६० लाख १९ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताइन् । रासस

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:४७
Weather Update