केसी भन्छन्– सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन

काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद केसीले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए ।
बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको टिप्पणी गर्दै केसीले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए ।
उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको पनि बताए ।
‘सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन । तर नेपालमा जे पनि गर्न मिल्छ । बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन । यो समय बिताउने मात्रै हो । नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन्,’ केसीले भने ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १८:२०