News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई प्रधानमन्त्रीले भने– बजेट संशोधन गरेर माग पूरा हुन्छन् [तस्बिरहरू पनि]

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे भेटमा विद्यालय कर्मचारीले विभिन्न मागका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहाललाई भेट गरेपछि अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहसँग भने,‘हामीले प्रधानमन्त्रीलाई भेट्यौं । ‘बजेट संशोधन गरेर तपाईंहरूका माग समाधान गर्छौं । तपाईंहरूको मागबारे म चिन्तित छु । म प्रतिबद्धता जाहेर गर्दछु । तपाईंहरु ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले भन्नुभयो ।’

अध्यक्ष तिवारीले आन्दोलन गरिरहेको र माग पूरा नगराई घर जानसक्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई जानकारी गराए ।

त्यसैगरी विद्यालय कर्मचारी परिषद्को एक टोलीले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेको छ । टोलीले देउवालाई पनि मागबारे ध्यानाकर्षण गराउँदै पूरा गराउन आवश्यक समन्वय गरिदिन आग्रह गरेकाे छ ।

विद्यालय कर्मचारीसहितको टोलीसँग देउवाले भनाइ उद्धृत गर्दे अध्यक्ष तिवारीले भने,‘अर्थमन्त्री सँग कुरा गर्छु । ढुक्क हुनुस् ।’

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भेटेपछि तिवारीले माग पूरा हुनेमा आफूहरू आशावादी रहेको जनाए । उनी भन्छन्,‘दुई चार दिन ढिला होला तर माग पूरा हुनेमा ढुक्क छौं ।’

विद्यालय कर्मचारीहरूले निजामती कर्मचारीसरह तलब सुविधाको माग गरेका छन् । विद्यालय सहायक (लेखापाल) लाई ३४ हजार ९०२ हुनुपर्ने, विद्यालय सहयोगी (का.स) २६ हजार ७०२ तलब हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न कार्यरत विद्यालय कर्मचारीलाई स्थायी गर्न एक पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरूलाई शिक्षक सरहको सेवा सुविधा दिएर अवकाशमा पठाउनुपर्ने पनि उनीहरूको माग छ । 

तस्बिरहरू

karmachari-pm1687694745.jpg

karmachari-om dahal1687694766.jpg

karmachari-deuba1687694792.jpg

sabhapati-deuwa-karmachari1687694843.jpg

karmachari-andolan-maitighar1687694930.jpg

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:५०
Weather Update