
काठमाडौं— साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले बढेको छ ।
कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो । गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो । गत बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबारको तुलनामा आइतबार दोब्बरले कारोकार रकममा वृद्धि भएको छ ।
आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से परिसूचक ६२.२१ अंकले बढेसँगै ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, हिमालयन ऊर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर, शुभम पावरको शेयरमूल्य ६.८१ प्रतिशत घटेको छ । आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।