News Griha :: न्यूजगृह
सर्वसाधारणका लागि खुल्यो अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ 

काठमाडौं—अप्परस्याङ्गे हाइड्रोपावरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि आइतबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ। 

असार १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार २४ गतेसम्म लम्बिनेछ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। 

यस्तै, ५ प्रतिशत अर्थात् ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले बताएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:०६
Weather Update