News Griha :: न्यूजगृह
दिनभरीका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

असार ९ गते शनिबार राजनीतिक, पर्यटन तथा साहित्य र शिक्षाका समाचार नै प्रमुख बने । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दलले नै समाजवादी मोर्चा गठन गरेपछि कांग्रेसले पनि सत्ताको विकल्प खोज्ने संकेत गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आम चुनावमा पहिलो बन्नबाट पार्टीलाई कसैले रोक्न नसक्ने बताए । पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा देशमा शान्ति स्थापाना भएको बताए । त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विधान अधिवेशन तयारीमा जुटेको छ । २२ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसेका विद्यालय कर्मचारीका माग सरकारले पूरा नगर्दा उनीहरु पीडित बनेका छन् । विद्यालय कर्मचारीहरुले विभिन्न नेता तथा मन्त्रीलाई भेटेर मागबारे ध्यानाकर्षण गराउँदै आएका छन् । छोटकरीमा शनिबार दिनभरका समाचार यस्ता छन् :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेताकार्यकर्ताले असल मानिसका लागि पदत्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए ।

०००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धन ठिक ढंगले चल्ने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए । उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए ।

०००

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा सुरु भएको बैठकमा आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो । आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।

०००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भूगोलका हिसावले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताए । 

०००

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

०००

नेपाल विद्यालय कर्मचारीको आन्दोलन जारी छ । माइतीघर मण्डलामा रिले अनशन सुरु भएको २२औं दिन पुगेको छ । विद्यालय कर्मचारीहरुले निजामती कर्मचारीसरह तलब सुविधाको माग गरेका छन् । विद्यालय सहायक (लेखापाल) लाई ३४ हजार ९०२ हुनुपर्ने, विद्यालय सहयोगी (का.स) २६ हजार ७०२ तलब हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न कार्यरत विद्यालय कर्मचारीलाई स्थायी गर्न एक पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरुलाई शिक्षक सरहको सेवा सुविधा दिएर अवकाशमा पठाउनुपर्ने पनि उनीहरुको माग छ ।

आन्दोलन जारी रहँदा विभिन्न सहयोग पनि प्राप्त भएको छ । ऐक्यबद्धता, खाजापानीको व्यवस्थालगायतका सहयोग विद्यालय कर्मचारीलाई प्राप्त भएको छ । संघीय सांसद योगेन्द्र मण्डलले नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै २९ हजार रुपैयाँ बराबरको नास्तापानीको व्यवस्था गरेका छन् । त्यसैगरी परिषद्ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर माग पूरा गराउन पहल गरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:३६
Weather Update