
काठमाडौं— कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन् ।
पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ ।
व्यवसायीहरू सरकारले कोराना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भए पनि सरकारी तवरबाट चासो दिएको महसुस आफूहरूले गर्न नसकेको बताउँछन् । उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुसी भएको बताए । व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको उनको भनाइ छ । ड्रागन बोट रेस फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरू पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटकहरू पनि आउने वातावरण बनेको उनले बताए ।
होटल एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरू बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए । ‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ । अहिले हामी आशावादी भएका छौँ । पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ । बाहिर जानेहरूलाई पनि यहाँ सिक्ने अवसर भएको छ,’ उनले भने, ‘हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ । कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ । अब पर्यटकहरूको भीड लाग्नेछ । गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन् । पोखरा विमानस्थलमा नियमित उडान हुनसके पर्यटकको कमी हुँदैन । पोखराको प्रवद्र्धनमा जोड दिनुपर्छ ।’
गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूले पर्यटकहरूको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरे ।