
काठमाडौं— स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा बसेर सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको बताएका छन् ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने अवस्थामा ४० प्रतिशत कटौती गरेको भन्दै दरबन्दीका कारण स्वास्थ्य सुविधा सहजै उपलब्ध गराउन नसकेको बताए ।
उनले भने, ‘अहिले दरबन्दी नभएको कारणले हामीलाई स्वास्थ्य सुविधा दिन गाह्रोे भएको छ । करिब ७ सय स्थानीय निकायमा नयाँ अस्पताल खोल्ने भनेर हामीले हुटहुटी लगाएर शिलान्यास गर्यौँ । अलिअलि भवन बनायौँ । त्यो भवनमा को बस्नी हो ? यो राज्यले व्यवस्था गर्न पर्ने बेलामा ४० प्रतिशत कटौती गर्यो । यो राष्ट्रिय आयोजनाको मान्छे को हो ? अर्थमन्त्रालयका मान्छे को हो ? यो सोच्न पर्ने विषय होइन ? मैले सरकारमा बसेर सरकारको विरोध गरेको हैन । गलत क्रियाकलापको नीतिको विरोध गरेको हो । मैले गल्ती गरे भने मैले मेरो पनि विरोध गनुपर्छ । म त्यो मान्यताको मान्छे हो ।’
त्यस्तै, उनले वीर अस्पताल गरिब जनताको आस्थाको केन्द्र भएता पनि अहिले सेवा सुविधा महँगाे हुँदै गएको भन्दै वीर अस्पतालको ७ सय वटा शैया बिरामीहरूलाई निःशुल्क प्राप्त गराउने मन्त्रालयले निर्णय गरेको उल्लेख गरेका छन् ।