
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्म अनुरूप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए ।
संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइभर्सन, बागमती कमला चन्द्रनहर लगायतका सिँचाइ आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरेरै अगाडि बढाएको उनको भनाइ छ । उनले तराई मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तिनको समयबद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।
मधेसमा सञ्चालनमा रहेका आयोजनाहरूको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत् प्रभावलाई समेत सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताए ।