News Griha :: न्यूजगृह
समाजवादी मोर्चा ‘बुढाहरू’को क्लब : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमाले सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरूको क्लब भएको बताएका छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो प्रौढहरूको क्लब हो । यसमा इतिहासको बखान हुन्छ ।’

उनले समाजवादी मोर्चा बनाएका दलहरू अस्तित्वको संकटमा रहेको बताए । ‘यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्,’ उनले भने ।

समाजवादको धारणामा एकरूपता हुन नसकेकाहरूको मोर्चा धेरै समय नटिक्ने दाबी गरे । ‘समाजवादको धारणाप्रति नै उहाँहरूको एकरूपता छ त ? समाजवादमा पुग्ने बाटोमा एकरूपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरूको समान दृष्टिकोण छ ?,’ उनले प्रश्न गरे, ‘संविधान च्यात्नेहरू पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ?’ 

सांसद भट्टराईले संसद्मा पेस गर्ने डकुमेन्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटिहरू भइरहेको बताए । मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने उनको भनाइ छ । उनले छलफलमा मन्त्रीहरू नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताए । ‘छलफलमा नै मन्त्रीहरू आउँदैनन् । संसद्लाई ध्यान दिन सकिएको छैन । सरकार संसद्प्रति जवाफदेही छैन । उहाँहरूको हेलचक्य्राइँ छ ।’

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरू असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताए । ‘सत्ता पक्षकै नेताहरू असन्तुष्टि हुनुहुन्छ बजेटमा । बजेट फेल भएपछि सरकार स्वतः जान्छ,’ उनले भने । 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:५९
Weather Update