News Griha :: न्यूजगृह
सांसदको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं— प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरुले विरोध जनाएका छन् ।

बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन् ।

सांसदहरू सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्मा, रमेश लेखक, रघुजी पन्तलगायतले विधेयकमा प्रदेशको नाम उल्लेख नभएको विषय उठाएका थिए ।

सांसदहरूको विरोधपछि सरकारका तर्फबाट जवाफ दिँदै शहरी विकासमन्त्री सीता गुरुङले प्रदेशको नाम उल्लेख नभएको वा त्रुटी भएको भए सच्याउने प्रतिबद्धता जनाइन् ।

सांसदहरूले भने विनियोजन विधेयकमा प्रदेशको नाम सच्याउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका थिए । यस विषयमा संसदमा थप विवाद चर्किपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:५३
Weather Update