News Griha :: न्यूजगृह
ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसँग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । समिति सभापति सन्तोष चालिसेले यस विषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

बैठकले धितोपत्र दलाल र व्यापारिलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले बताए । बैठकमा धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेकालाई अनुमति दिने जानकारी दिए ।

अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उनले बताए । उनले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहिको विरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले ऐन र नियममा टेकेर हुने राम्रा कामको सधै समर्थन रहने भन्दै विवादीत विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:२०
Weather Update