News Griha :: न्यूजगृह
बाबुराम भन्छन्– कथित समाजवादी मोर्चालाई सत्ता बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस्

काठमाडौं— नेपालमा वैकल्पिक राजनीतिको सूत्रधार एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार (असार ४ गते) चार दल मिलेर घोषणा गरिएको समाजवादी मोर्चाको निर्माणप्रति आशंका व्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् ।

उनले सोमबार राति ट्वीटरमा लेखेका छन्,‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।’

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् ।

‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:२८
Weather Update