News Griha :: न्यूजगृह
सडक सञ्जालबाट जोडियो म्याग्दीको मंगला र ताराखोला
प्रतिनिधिमूलक तस्बिर

म्याग्दी— म्याग्दीको मंगला र बाग्लुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।

गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।

सडक निर्माण भएपछि म्याग्दीको सिंगा तातोपानीदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घण्टामै पुग्न सकिने भएको मंगला–४ धापुङका उमेश विश्वकर्माले बताए ।

‘यसअघि मंगलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घण्टा लाग्ने गरेको थियो,’उनले भने,‘२० किलोमिटर दुरिको सडक निर्माण भएपछि तातोपानीदेखि दुई घण्टामै ताराखोला पुग्न सकिने भएको छ ।’

ताराखोलाका बासिन्दाहरुलाई बाग्लुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई  पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवत जावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए ।

सडकमा जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानीदेखि सिर्खु सम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालयले तीन वटा खण्डमा आयोजना सञ्चालन गरेका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको दश लाख र मंगला गाउँपालिकाको १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ । न्युखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब ३०० मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको दश लाख र गाउँपाकिलाको दश लाख लगानी भएको छ ।

प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप दश लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुँदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट २५ लाख लगानी भएको छ ।

यस आयोजनाका लागि म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख थपिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०६:३४
Weather Update