News Griha :: न्यूजगृह
सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार

बाग्लुङ/ढोरपाटन— बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।

सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन् । स्वास्थ्य केन्द्रमा पनि सोमबार दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षाअन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो ।  

सुनारको सुत्केरी हुने मिति १७ दिन अगाडि रहेको थापाको भनाइ छ । उनको जटिल किसिमको शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने हुँदा पोखरा पठाइएको थापाले बताए ।

‘उहाँलाई यही सुत्केरी गराउन आवश्यक जनशक्ति र उपकरण छैन, लामो समयदेखि व्यथा लागे पनि बच्चा जन्मन नसक्दा आमा र बच्चा दुवैको ज्यान खतरामा हुने हुँदा पोखरा पठाएका हौँ’, प्रमुख थापाले भने,‘यही शल्यक्रिया गर्ने भनेका थियौँ तर जटिल बन्दै गएपछि तत्काल हेलिकप्टर माग गरेर पठयौँ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:०८
Weather Update