
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन पनि दिए ।
बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन प्रदेश सभा सदस्यहरूलाई उनले आग्रह गरे ।
पार्टी अध्यक्ष ओलीले पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिँदै भने,‘सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ ।’
आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा नीति, कार्यक्रम र बजेटका विषयमा पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष ओलीले सबै प्रदेश सभाका एमालेका संसदीय दलका नेताहरूको प्रस्तुति सुने ।
बैठकमा प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए ।
उनीहरूले बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको जानकारी गराएका थिए ।