
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले प्राविधिक कारणले लोडसेडिङ भएको भन्दै पावरप्लान्ट पनि बन्द हुने र निर्यात गर्न पनि नमिल्ने भन्दै स्पष्टीकरण दिए । उनले राति हाम्रो खपत कम हुने हुँदा फाल्नु परेकाले राति निर्यात बढाउन आवश्यक रहेको बताए ।
उनले भने,‘राति हाम्रो खपत कम हुन्छ र निर्यात बढाउनै पर्छ । निर्यात गरेन भने हामीले त्यसलाई फाल्नै पर्ने हुन्छ । हामीले यहाँ बत्ति अफ गरेर निर्यात गरेको भन्ने कुरा गलत हो । प्राविधिक कारणले हो हाम्रो पावरप्लान्ट पनि बन्द हुन्छ । त्यसैले निर्यात नै गर्न मिल्दैन ।’
घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेसमा धेरै गर्मी भएकाले विद्युत् खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको प्रष्टोक्ति छ ।
उनले नेपालमा अब विद्युतको लागि लगानी चाहिएको भन्दै यदि विद्युत् क्षेत्रलाई बेवास्ता हुने हो भने अर्को समस्या आउने टिप्पणी गरे ।