
काठमाडौं— नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई विद्यालय कर्मचारीको आन्दोलनका विषयमा काउन्टर जवाफ दिएका छन् ।
सरकारसँग विभिन्न माग राख्दै दुई हप्ता बढी समयदेखि काठमाडौंमा आन्दोलन गरिरहेका विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार विद्यालय बन्दको आह्वान गरेका थिए ।
मेयर साहले विद्यालय कर्मचारीको आन्दोलनलाई लक्षित गर्दै विद्यालय बन्द गराएर कारबाही गर्ने र कर्मचारीको जागिरसमेत खाइदिने चेतावनी दिएका थिए ।
यो पनि पढ्नुहोस
बालेनको विषयमा सामाजिक सञ्जालबाटै विद्यालय कर्मचारीहरुले आपत्ति जनाएका थिए । आइतबारको संसदमा कांग्रेस सांसद बडूले बालेन साहको नाम नलिई उनलाई काउन्टर जवाफ दिए ।
बडूले भने,‘केही दिनयतादेखि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु जारी आन्दोलनको नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छु । यो आन्दोलन कर्मचारीहरुको पहिलो होइन । रहरको विषयमा पनि होइन । एउटा बाध्यात्मक परिस्थितिमा पुर्याइएको अवस्था हो । नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका सेवासुविधा उल्लेख गरिएको छ । तर बजेट बनाउँदा बिर्सिएको अवस्था हो । यो आन्दोलनलाई प्रहरी दमन गरेर जागिर नै खाइदिन्छु भन्ने तानाशाही प्रवृत्ति र यो मानसिकताबाट समस्या समाधान हुँदैन । वार्ता र उचित बजेटबाट यसको समाधान गरिनुपर्छ ।’