News Griha :: न्यूजगृह
बालेनलाई तिवारीको चुनौती– ल हेरौं त कसरी जागिर खाँदा रहेछौ ? 

काठमाडौं—नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिएका छन् । शनिबार विद्यालय बन्द गराए शिक्षक–विद्यालय कर्मचारीको जागिर खाइदिने अभिव्यक्ति बालेन साहले दिएका थिए ।

विद्यालय कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको दुई हप्ता बढी समय भइसक्दासमेत माग पूरा गर्न सरकार तत्पर छैन । सरकारलाई दबाब दिने उद्देश्यले विद्यालय कर्मचारीहरुले आज आइतबारदेखि विद्यालय बन्दको आह्वान गरेका छन् ।

मेयर बालेनले काठमाडौं महानगरभित्रका विद्यालय बन्द गराए शिक्षक,कर्मचारी,व्यवस्थापन समिति, प्रधानध्यापकलाई कारबाही गर्ने तथा जागिरसमेत खाइदिने गम्भीर अभिव्यक्ति दिएका छन् । उनको उक्त अभिव्यक्तिको शिक्षक र कर्मचारीले कडा शब्दमा निन्दा गर्दै आपत्ति जनाइरहेका छन् । 

नेपाल विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारी भन्छन्,‘हजारौं विद्यालय कर्मचारीहरू माइतीघरको टन्टलापुर घाममा १३ दिन बस्दा देखेनौ मेयर बालेन । अनि के को फुइ ल हेरौं त कसरी जागिर खाँदा रहेछौ ?’

अध्यक्ष तिवारीले मेयर साहलाई अझै पनि शिक्षा ऐन २०२८ चालु रहेको भन्दै त्यसको अवगत गराएका छन् । उनले भने,‘ मेयर साहेबलाई थाहै भएन कि ? कसो ।’

त्यसैगरी परिषद्का महासचिव शान्तिनाथ योगीले अझैसम्म पनि सरकारी तवरबाट विद्यालय कर्मचारीका माग मुद्दा कमजोर बनाउन खोजिएको बताए । उनले भने,‘अझैसम्म पनि विद्यालय कर्मचारीहरूका माग मुद्दा कमजोर बनाउने चेष्टा हो भने उसको उठिबास हुने नश्चित छ ! काउन डाउन सुरु....।’

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०६:३३
Weather Update