
काठमाडौं— गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भइ सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो ।
यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्बभन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् ।
विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौँ लगानी गरेको बताए । ‘लुम्बिनीमा निजी क्षेत्रको ८० अर्ब रुपैयाँ लगानी भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो । राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ । एडिबीले विमानस्थलमा लगानी गरेको छ । सम्भाव्यता अध्ययन नगरी लगानी भएको छैन । लुम्बिनीका व्यवसायीहरू चिन्तित र दुःखी छौँ,’ उनले भने ।
निजी क्षेत्रले अर्बौँको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश बनेको उनको भनाइ छ । उनले विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरूमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए ।
अध्यक्ष शर्माले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए । ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरूको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरूले लगानी वृद्धि गरेपनि लगानी अलपत्र परेको उनले चिन्ता व्यक्त गरे । उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण समेत जोखिममा परेको उनको भनाइ छ ।
अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए । उनले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताए ।
विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरूले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको उनको भनाइ छ । उनले सरकारले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौँको लगानी सुरक्षित बनाउन आवश्यक रहेको औँल्याए ।
उनले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएर मानिसहरूको चहलपहल बढ्दा लुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको बताए ।
अध्यक्ष ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिले केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास व्यक्त गरे । ‘विमानस्थल सञ्चालनको लागि भारत सरकारसँग कुराकानी भएको भन्ने बुझेका छौँ । यसको केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको छ । तत्काल आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।
सरकार निजी क्षेत्र मिलेर अघि बढेमा अहिले देखिएको अर्थतन्त्रको समस्या समेत समाधान हुने उनको विश्वास छ ।
त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म पहल नभएको बताए ।
उनले उद्योगी व्यवसायीहरूले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरेपनि सुनुवाइ नभएको गुनासो गरे । सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको उनको भनाइ छ ।
विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरूको आगमनमा वृद्धि हुने अपेक्षाले निजी क्षेत्रले लगानी गरेपनि विमानस्थल चल्न नसक्दा व्यवसायी निराश भएको उनले बताए । उनले विमानस्थलका भौतिक पूर्वाधार बने पनि सञ्चालनमा आउन नसक्दा यो क्षेत्रका उद्योगी व्यवसायीहरू दुःखी भएको उल्लेख गरे ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरू नआउने बताए । सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागु गर्नु आवश्यक रहेको बताए ।
विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलबार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।