लुम्बिनी— लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ । चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।
प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मस्कीले आर्थिक वर्ष २०८०/८१ का लागि शुक्रबार लुम्बिनी प्रदेश सभामा प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पूँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट छ अर्ब ७३ करोड ५१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब १४ करोड ८३ लाख, सःशर्त अनुदानबाट पाँच अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आवको नगद मौज्दातबाट तीन अर्ब र आन्तरिक ऋणबाट एक अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ ।
तुलनात्मक लाभका क्षेत्रमा लगानीको वातावरण सिर्जना, सीपमा आधारित दक्ष जनशक्तिको विकासमार्फत युवा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी प्रवर्द्धन गर्दै गरिबी न्यूनीकरण, प्राकृतिक स्रोतसाधनको दीगो उपयोगिताबाट हरित अर्थतन्त्रको विकास एवं सामाजिक न्यायमा आधारित वितरण प्रणाली कायम गर्दै सुशासन प्रवर्द्धनद्वारा आर्थिक सामाजिक विकास गर्नेतर्फ बजेटले लक्ष्य निर्धारण गरेको छ ।
बजेटमा प्रदेशको वर्तमान आर्थिक अवस्था र चालु आवको आर्थिक समीक्षामा चालु आव २०७९/८० मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन सात खर्ब ६३ अर्ब रहने अनुमान गरिएको छ । आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धि दर घट्ने अनुमान गरिएको मन्त्री मास्कीले बताए । कूल गार्हस्थ्य उत्पादन अघिल्लो वर्ष छ खर्ब ९८ अर्ब रहेको थियो । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यो प्रदेशको योगदान १४ दशमलव ४२ प्रतिशत रहने बताइएको छ । प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान ३० दशमलव ०४ प्रतिशत रहने अनुमान गरिएको छ ।
चालू आवमा कृषि क्षेत्रको तीन दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः दुई दशमलव चार र पाँच दशमलव नौ प्रतिशत थियो । बजेटमा मन्त्री मास्कीले लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेका छन् । चालू आव २०७९/८० को आर्थिक सर्वेक्षणमा यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो ।
चालू वर्षमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको अङ्क १४ दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा अङ्क १४ दशमलव ४२ प्रतिशत थियो । चालू आवमा लुम्बिनीमा प्रतिव्यक्ति आय एक हजार एक सय २६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ । लुम्बिनीको गरिबीको औसत दर १८ दशमलव चार प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा तीन अर्ब ६४ करोड २५ लाख राजस्व प्राप्त भएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो ।
प्रदेश सरकारले बजेटमा प्रदेशको स्थायी राजधानीमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको मन्त्री मास्कीले बताए ।
उनले बजेटका प्राथमिकता र सिद्धान्तमा आधारित रहेर सरकारको नीति तथा कार्यक्रम, प्रथम आवधिक योजना र १० वर्षे रणनीतिक योजनालाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए ।
बजेटमा यसअघिको सरकारले ल्याएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिँदै १० करोड बजेट विनियोजन गरिएको छ । स्थानीय बाली संरक्षण कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न जिल्लाका लागि छ करोड १८ लाख र पशुपालनका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । पशु नश्ल सुधारका लागि दुई करोड कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै मूल्य शृङ्खलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजनाअघि सारिएको बजेटमा उल्लेख गरिएको छ ।