
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तासिमा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना अहिलेको सरकारको नीति तथा कार्यक्रममा नपरेको बताएकी छन् ।
बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खस्किएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्णतर्फ ध्यान दिनुपर्ने बताइन् ।
‘मन्त्रालयसँग मुस्किलले १२ सयदेखि १४ सय मात्र डाक्टर हुनुहुन्छ । सरकारी स्वास्थ्य संस्थाहरु १० हजार भन्दा माथि छ तर १२ सय मात्र डाक्टर छन्,’ उनले भने, ‘तर, पनि दरबन्दी बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा पनि परेन । यो बजेट विनियोजन भएर आएको कार्यक्रममा पनि परेन ।’
अहिले दक्षिण एसियामा सबैभन्दा धेरै आत्महत्या हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको भन्दै यसलाई विशेष प्राथमिकता दिएर छुट्टै शीर्षकका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।