News Griha :: न्यूजगृह
प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराध मुद्दालाई सर्वोच्चले अग्राधिकार दिएपछि बाल लडाकु विष्टले के भने?

 काठमाडौं— अयोग्य बाल लडाकु लेलिन विष्टले सर्वोच्च अदालतले अग्राधिकार दिएर मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि आफूलाई न्यायको दियो बलेको महसुस भएको बताएका छन् ।

द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई  विपक्षी बनाएर  सशस्त्र युद्धका दौरान बाल सेना प्रयोग र युद्ध अपराधको गरेको जिकिर गर्दै दायर मुद्दामा सर्वोच्चले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।

मुद्दालाई अग्राधिकार दिन समेत आदेश भएपछि रिट निवेदक लेलिन विष्टले सर्वोच्च परिसर बाहिर मंगलबार अपरान्ह पत्रकार सम्मेलन गर्दै अदालतबाट न्याय दिने हिसाबमा नै फैसला हुने आशा व्यक्त गरे । 

उनले भने, ‘न्यायको दियो बलेको जस्तो लागेको छ किनभने अग्राधिकार दिनु भनेको यो मुद्दालाई विशेष रुपमा टुङ्गो लगाउनु पर्छ भन्ने हो, आज अदालतले नेपालमै हल गर्नुपर्छ भनेर निर्णय गरेको छ, यसलाई सकारात्मक रुपमा हामीले लिएका छौ । हाम्रो मागमा बाल सेना प्रयोग र युद्ध अपराधको विषयलाई प्राथमिकतामा राखिएको छ, अर्को कुरा हाम्रो दीर्घकालीन व्यवस्थापन र भविष्यमा युद्धमा बालबालिका प्रयोग नहुने र राजनीतिक हिंसामा बालबालिकाको प्रयोग गर्न कसरी रोक्ने भनेर माग गरेका छौ ।’  

रिट निवेदक विष्टले मुद्दाको विषयमा जनचासो बढेको र अन्तराष्ट्रिय समुदायले समेत चासो देखाएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:३५
Weather Update