News Griha :: न्यूजगृह
सुनको मूल्य आकाशियो, तोलाकै १ लाख ९ हजार ८०० रुपैयाँ

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो ।

गत आइतबार सुनको मूल्यले कीर्तिमान रेकर्ड कायम राख्न सफल भएको थियो । सो दिन सुनको मूल्य तोला २ हजार ९०० रुपैयाँ बढेको थियो । उक्त दिनको कारोबारमा सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँ बढेको छ ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:१६
Weather Update