News Griha :: न्यूजगृह
अवैध तरिकाले रासायनिक मल भित्रिने क्रम बढ्दो

पाल्पा नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेला परेको थियो ।सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

रामपुर– ५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा)‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो  ।

palpa-uriya1686620447.jpg

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले मल ‘शिल’ गरेर राखेको हो ।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका– १ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:०८
Weather Update